काठमाण्डौ । आइतबार दिउँसोदेखि प्रमुख व्यवसाय अधिकृत(सीबीओ) रश्मी पन्तलाई पक्राउ गर्न प्रभू बैंकको मुख्यालय पुगेको प्रहरीको टोलीले साँझ ७ बजेसम्म पनि उनलाई फेला पार्न सकेको छैन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोली दिउँसो बैंकको छैठौं तलामा चढ्नुअघि नै कतैबाट रश्मीलाई सूचना लिक भइसकेको थियो । हतार–हतार उनी बैंकभित्रकै कुनै अज्ञातस्थलमा लुकेकी थिइन् । दिउँसोदेखि साँझसम्म पनि प्रहरीले सर्च अपरेशन चलाउँदा समेत रश्मी भेटिएकी छैनन् ।
'उहाँको मोवाइलको लोकेसन बैंकभित्रै देखिन्छ । हामीले बैंकबाट बाहिर निस्किने लगायतका सबै सिसीटिभी फूटेज हेर्दा कतैबाट निस्किएको पनि देखिन्न । उहाँको कार्यकक्षको ढोका लागेको छ । तर हालसम्म फेला पार्न सकेनौं ।' अपरेशनमा खटिएका एक प्रहरीले बिजशालासँग भने-'हामी अहिले बैंकबाट बाहिर निस्किएका छौं ।'
प्रहरी टोली दिनभर बैंकभित्रै ढुकेर बस्दा समेत पन्त फेला नपरेपछि केहीबेरअघि बाहिरिएको हो ।
प्रहरी टोलीसँगै बैंकका कामु सीईओ निरज लम्साल लगायतका उच्चपदस्थ कर्मचारीहरु पनि बैंकबाट बाहिरिएका छन् ।
आइटी र अन्य अत्यावश्यक विभागका कर्मचारीहरु भने राति १२ बजेसम्म बस्ने बताइएको छ ।
सीबीओ पन्त बैंकभित्रै एकाएक गायब भएको घटनाले कर्मचारी समेत चकित परेका छन् । 'कसैलाई थाहा नहुने गोप्य कुनै ठाउँ पहिलादेखि नै बनाइएको थियो कि भन्ने देखिन्छ ।' एक कर्मचारीले भने-'नभए जादूजस्तो एकाएक मान्छे कसरी भवनभित्रै गायब हुन्छ ?'
सीईओ, डिसीइओ लगायत ४ उच्चपदस्थपछि सीबीओलाई समेत पक्राउ गर्न प्रहरी आएपछि प्रभू बैंकको मुख्य कार्यालयका कर्मचारी त्रसित छन् । 'काम गर्ने जाँगर नै चलेको छैन ।' कर्मचारीहरुले भनेका छन्-'कुन बेला को पक्राउ पर्ने हो, टुंगो भएन । त्रासै त्रासमा काम गर्नुपर्ने बाध्यतामा छौं हामी ।'
यसअघि प्रकाशित समाचारहरु:
2. सीआईबीको केही घण्टादेखि प्रभूमा सर्च अपरेशन, रश्मी पन्त लुकेको ठाउँ पत्ता लगाउन हैरानी

