काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात ३१.३६ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ४ हजार ३३३ डलरमा भईरहेको छ ।
अमेरिकी श्रमबजारको कमजोर तथ्यांक सार्वजनिक हुनु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका तेल ट्याङ्करमाथि प्रतिबन्ध लगाउनु सुनको मूल्य बढ्नुको प्रमुख कारण रहेको विश्लेषकहरुले बताएका छन् ।
पछिल्लो समय निरन्तर वृद्धि भईरहेको सुनको मूल्य दुई वर्षमै दोब्बर कायम भएको छ । विश्लेषकहरुले सन् २०२६ सम्म सुनको भाउ प्रतिऔंस ५ हजार डलर पुग्ने प्रक्षेपण गरेका छन् । गत अक्टोबर महिनामा सुनको मूल्य प्रतिऔंस ४ हजार ३८१ डलरसम्म पुगेको थियो । विश्वका केन्द्रीय बैंकले खरिद बढाउदा र बजारमा नयाँ लगानीकर्ताको प्रवेशका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि ४.६३ प्रतिशत अर्थात २.९५ डलरले बढेर प्रतिऔंस ६६.३८ डलरमा कारोबार भईरहेको छ ।

