काठमाण्डौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा लगानीकर्ताको पहुँच विस्तार र बजारलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित धितोपत्र कारोबारसम्बन्धी विनियमावलीमा महत्वपूर्ण संशोधन गरिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृत गरेको नयाँ व्यवस्थाले अब सेयर खरिद–बिक्रीका अर्डर २४ घण्टै दिन सकिने व्यवस्था लागू गर्ने बाटो खोलेको छ।
नयाँ प्रावधानअनुसार लगानीकर्ताले जुनसुकै समयमा अनलाइनमार्फत अर्डर प्रविष्ट गर्न सक्नेछन्। यद्यपि वास्तविक कारोबार भने नेप्सेको नियमित समय (बिहान ११ देखि दिउँसो ३ बजे) भित्रै सम्पन्न हुनेछ।
अफ–आवरमा अर्डर दिँदा सेयरको मूल्य अन्तिम कारोबार मूल्यको अधिकतम २ प्रतिशत माथि वा तल मात्रै राख्न पाइने प्रावधान राखिएको छ। यसले अनियमित मूल्य हेरफेरलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
बजार स्थिरता कायम राख्न प्रयोग हुने सर्किट ब्रेकर प्रणालीलाई पनि पुनर्संरचना गरिएको छ। यसअघि तीन तहमा लागू हुँदै आएको सर्किट ब्रेकरलाई घटाएर दुई तहमा सीमित गरिएको छ।
५ प्रतिशत उतारचढाव हुँदा १५ मिनेटका लागि र ८ प्रतिशत उतारचढाव हुँदा सो दिनका लागि कारोबार बन्द गरिने व्यवस्था गरिएको छ । संशोधित विनियमावलीले एनआरएनलाई दोस्रो बजारमा सहभागी गराउने दिशामा पनि आधार तयार पारेको छ।

