काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरेको वार्षिक बजेटलाई मन्त्रिपरिषद्ले अन्तिम स्वीकृति दिएको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट प्रस्ताव अनुमोदन गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्बाट स्वीकृतिसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न पुगेका छन्। उनले आज अपराह्न ४ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसअघि अर्थमन्त्री वाग्लेले नेपाली कागजबाट बनेको विशेष फाइलमा बजेट बोकेर मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेका थिए। ब्रिफकेसमा बजेट ल्याउने पुरानो परम्पराबाट अलग हुँदै उनले यसपटक स्वदेशी पहिचान झल्किने शैली अपनाएका हुन्।

