काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता रोकिएको भन्ने समाचारलाई असत्य बताएका छन्। उनले दुवै देशबीच संवाद निरन्तर जारी रहेको र पछिल्ला दिनहरूमा पनि नियमित रूपमा छलफल भएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले केही दिनअघि वार्ता बन्द भएको भन्ने रिपोर्टहरू गलत रहेको बताए। उनका अनुसार चार दिनअघिदेखि आजसम्म पनि दुवै पक्षबीच सम्पर्क र वार्ता चलिरहेको छ।
ट्रम्पले वार्ताको अन्तिम परिणामबारे अहिले नै अनुमान गर्न नसकिने बताए पनि इरानसँग कुनै न कुनै प्रकारको सहमति आवश्यक रहेको उल्लेख गरेका छन्। उनले लामो समयदेखि जारी तनाव अब समाधानतर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्।
यसअघि इरानी सञ्चारमाध्यमहरूले लेबनानमा जारी सैन्य गतिविधिका कारण अमेरिका–इरान वार्ता स्थगित गरिएको दाबी गरेका थिए। तर ट्रम्पले त्यस्तो कुनै आधिकारिक जानकारी आफूले नपाएको र संवाद प्रक्रिया जारी रहेको बताएका छन्।

