काठमाण्डौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको निगरानी तथा कारबाहीलाई प्रहरीले थप कडाइ गरेको छ।
पछिल्लो २४ घण्टामा मात्रै विभिन्न प्रकारका सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४४५ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नियम उल्लङ्घन गर्ने चालकहरूबाट जरिवानास्वरूप २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
ट्राफिक अनुशासन कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा सुरक्षित यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले नियमित अनुगमन र कारबाहीलाई तीव्र बनाइएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२८ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ।
त्यसैगरी, प्रचलित नियमविपरीत ‘राइड सेयरिङ’ सेवा सञ्चालन गर्ने १६० जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको छ।
यस्तै, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४१ जना, तोकिएको सीमाभन्दा बढी गतिमा सवारी चलाउने १८३ जना तथा लेन अनुशासन पालना नगर्ने ४३ जना चालकलाई पनि जरिवाना गरिएको छ।
सार्वजनिक स्थानमा ध्वनि प्रदूषण बढाउने गरी निषेधित क्षेत्रमा हर्न बजाउने १२३ जना चालक कारबाहीमा परेका छन् भने सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १४ जनामाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
त्यसैगरी, एकतर्फी सडकमा सवारी चलाएर जोखिम निम्त्याउने १६६ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ४८७ जना चालकसमेत कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सडक सुरक्षा र अनुशासन कायम गर्न नियमित रूपमा चेकजाँच, निगरानी तथा सचेतनामूलक अभियान सञ्चालन गरिरहेको जनाएको छ।
कार्यालयले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा सुरक्षित यात्राका लागि जिम्मेवार व्यवहार अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनले दुर्घटना न्यूनीकरण, यातायात व्यवस्थापन सुधार तथा सर्वसाधारणको यात्रा सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

