काठमाण्डौं । मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा मौसममा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र तराईका केही भूभागमा तापक्रम वृद्धि हुने जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ।
तराईका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहे पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभरका हिमाली र पहाडी भू-भागमा सामान्य बदली रहने अनुमान गरिएको छ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
मौसमविद्का अनुसार पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
त्यसैगरी, मधेश र कोशी प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि ती क्षेत्रका अधिकांश स्थानमा गर्मीको प्रभाव कायम रहने देखिएको छ।
महाशाखाले मधेश, कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई भू-भागमा तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ।
अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
आज रातिको मौसम पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने पहाडी क्षेत्र र कोशी–मधेशका तराई भूभागमा आंशिक बदली रहनेछ।
बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान छ।
रातिको समयमा कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा समेत वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, देशका पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
मौसमविद्हरूले विशेषगरी गर्मी बढ्ने तराई क्षेत्रका बासिन्दालाई पर्याप्त पानी पिउन, अत्यधिक घाममा लामो समय नबस्न तथा मौसमसम्बन्धी पछिल्ला सूचनाहरू नियमित रूपमा अवलोकन गर्न सुझाव दिएका छन्।

