काठमाण्डौ । काठमाण्डौका विद्यालयहरुले कक्षाकोठामा नेपाली भाषा बोलेको निहुँमा विद्यार्थीबाट जरिवाना लिन नपाउने भएका छन् । काटमाण्डौ महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यालयहरूका नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
महानगरपालिकाले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशन समेत दिएको छ । महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासोप्रति महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ,’ महानगरले भनेको छ ।