काठमाण्डौ । लगानीकर्तालाई निरन्तर र उत्कृष्ट प्रतिफल दिन बीमा समूह अब्बल देखिएका छन् । नेप्सेमा सूचीकृत १३ समूहमध्ये बीमा समूहका कम्पनीहरुले लगानीकर्तालाई निरन्तर र केही प्रतिशत भएपनि लाभांश बाँड्दै आएका छन् ।
नेप्सेमा जीवन र निर्जीवन गरी कुल २४ बीमा कम्पनी सूचीकृत छन् । सो मध्ये गत आवको मुनाफाबाट २२ कम्पनीले लगानीकर्तालाई लाभांश दिएका छन् । यसर्थमा ९१.६६ प्रतिशत बीमा कम्पनीले आव २०८०/८१ को सञ्चित मुनाफाबाट लगानीकर्ताहरुलाई बोनस सेयर र नगद लाभांश वितरण गरेका छन् ।
लाभांश वितरण नगर्ने अर्थात् सो सम्बन्धि निर्णय नगर्ने कम्पनीमा जीवन बीमातर्फ सन नेपाल लाइफ र निर्जीवनतर्फ राष्ट्रिय बीमा कम्पनी रहेका छन् । सन नेपाल लाइफले भर्खरै मात्रै १ः०.२७ को अनुपातमा हकप्रद सेयर जारी गरेका कारण लाभांश घोषणा नगर्ने देखिन्छ, भने राष्ट्रिय बीमा कम्पनीले हालसम्म कुनै पनि आवको मुनाफाबाट लाभांश वितरण गरेको छैन ।
यसबाहेक सबै कम्पनीले बोनस र नगद लाभांश वितरण गरेका छन् । नेप्सेमा रहेका अन्य समूहको तुलनामा बीमा समूहबाट अधिकांश कम्पनीले लाभांश दिएका छन् । यसकारण पनि बीमा कम्पनीको सेयरमा गरिएको लगानी अन्य कम्पनीको तुलनामा त्यति जोखिम नहुने बजार विज्ञहरु बताउँछन् ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएका कारण पनि बीमा कम्पनीहरुले पूँजी बृद्धिका लागि भएपनि बोनस सेयर वितरण गरेको देखिन्छ । तर पूँजी पुगिसकेका केही बीमा कम्पनीहरुले भने नगद लाभांशमा मात्रै जोड दिएको पनि देखिएको छ ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा यस्तो अभ्यास बढी देखिएको छ । पूँजी बढेसँगै बैंकहरुले पछिल्लो केही वर्षयता बोनस भन्दा बढी नगद लाभांशमा जोड दिएका छन् । त्यसअनुसार नै बीमा कम्पनीहरुले पनि प्राधिकरणले तोकेको पूँजी पुर्याएपछि बैंकहरुकै सिको गर्न थालेको स्पष्ट देखिएको छ ।
जस्तै गत वर्षहरुमा राम्रै बोनस बाँडेको आइएमई लाइफले पूँजी पुगिसकेका कारण यस वर्षका लागि लगानीकर्तालाई २१।०५ प्रतिशत नगद लाभांश मात्रै दिएको छ ।
त्यस्तै, सूर्यज्योति लाइफ, हिमालयन लाइफ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि यस वर्षका लागि नगद लाभांश मात्रै दिने निर्णय गरेको छ । साथै अन्य कम्पनीहरुले पनि बोनस सेयर घटाएर नगद लाभांशमा नै जोड गरेकोे देखिएको छ ।
तर तुलनात्मक रुपमा हेर्दा बीमा समूहका कम्पनीहरुले लाभांश वितरणलाई निरन्तरता दिएका छन् । हाइड्रो समूह, लघुवित्त समूह, फाइनान्स समूह, लगानी समूह, उत्पादन तथा प्रशोधन समूह, विकास बैंक समूह र व्यापार समूहका कम्पनीहरुले निरन्तर लाभांश नबाँड्ने वा बाँडेपनि न्यून लाभांश दिने भएका कारण बीमा समूहका गरिएको लगानी केही हदसम्म सुरक्षित मान्न सकिन्छ ।
