काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया रोकिन नहुने बताएका छन् । देउवाले आज काठमाण्डौमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
देउवाले आफूले जलविद्युत कम्पनीहरुको सेयर निष्कासन रोकिएको कुरा सुनेको बताउँदै धितोपत्र बोर्डले चाँडै सेयर निष्कासन गर्ने विश्वास व्यक्त गरे । ‘ सेयर निष्कासन प्रक्रिया रोक्नुहुँदैन भन्ने मान्यता छ। ऊर्जा नेपालको लागि अत्यन्त महत्त्वपूर्ण र प्रकृतिले दिएको सम्पत्ति हो। ऊर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ। ग्रिन इनर्जीमा ध्यान बढी दिन सक्यौँ भने हामीलाई राम्रो हुन्छ,’ उनले भने ।
यस्तै उक्त अवसरमा उनले जलविद्युत क्षेत्रमा सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । लगानीकर्तालाई दुःख दिन नहुने भन्दै उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनु पर्ने बताए ।