काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले साना तथा मझौला कम्पनीहरुको प्लेटफर्म ‘एसएमई’ सम्बन्धी विनियमावली अघि बढाउने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारीअनुसार एसएमई प्लेटफर्मको विषयमा नेप्सेको बोर्डमा एक–दुई पटक छलफल भएको छ । यससँगै नेप्सेले तयार पारेको विनियमावली सञ्चालक समितिमा पेश हुनेछ ।
हाल नेप्सेको अध्यक्ष पद रिक्त छ । अध्यक्ष नभएता पनि हालका सञ्चालकहरु मध्येबाट नै अध्यक्षता गरेर एसएमइ प्लेटफर्म अघि बढाउने पनि प्रवक्ता पराजुलीले जानकारी दिए ।
धितोपत्र नियामवलीमा एसएमई प्लटफर्म अन्तर्गत आईपीओका लागि ५०० कित्ताका लागि आवेदन दिनुपर्ने उल्लेख छ । त्यही अनुसार दोस्रो बजारमा पनि ५०० कित्ताको नै खरिद÷बिक्री गर्नु पर्ने हुन्छ । यसको अर्थ आईपीओमा आवेदन दिने ५ सय कित्ता अनुसार नै दोस्रो बजारमा सेयर कारोबार हुने पराजुलीले प्रष्ट पारे ।
उनका अनुसार एसएमईमा छुट्टै प्लेटफर्म नहुन पनि सक्ने बताए । उनले भारतमा छुट्टै प्लेटफर्म नरहेको र नेपालमा पनि नहुन सक्ने बताए । एसएमई कोरोबारका लागि म्याचिङ इन्जिन हालकै हुने तर ट्रेडिङ सिस्टम भने नयाँ हुनसक्ने प्रवक्ता पराजुलीले भने ।
प्रवक्ता पराजुलीले इच्छुक संस्थाले धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि अहिले नै आवेदन दिन सक्ने पनि बताए ।
एसएमईसम्बन्धी नियमावली लागू भएसँगै २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका सार्वजनिक निष्कासन गर्नेछन् । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारणमा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ ।