काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था नाफामा उक्लिएको छ । अघिल्लो आवमा ४ करोड १७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो संस्थाले गत आवमा भने ३९ लाख ८८ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको खराब कर्जा घटेर ब्याज आम्दानी बढ्न पुगेपछि नाफामा उक्लिन सफल भएको हो ।
संस्थाको एनपीएल ७.९० प्रतिशतबाट घटेर ४.८९ प्रतिशत कायम भएको छ । खराब कर्जा घटेपछि संस्थाले गत आवमा १० करोड ९२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा ४७.९२ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ७ करोड ३८ लाख रुपैयाँ. मात्रै ब्याज आम्दानी गरेको थियो ।
सो अवधिसम्म संस्थाको चुक्तापूँजी १७ करोड ८ लाख रुपैयाँ रहेकोमा रिजर्भ फण्डमा ८ करोड ३४ लाख रुपैयाँ संचित र रिटेन्ड अर्निङ भने ५ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । संस्थाको इपीएस २.३३ रुपैयाँ, नेटवर्थ ११६.८२ रुपैयाँ, पीई रेसियो ६५२.१८ गुणा, तरलता अनुपात १९.९० प्रतिशत, कस्ट अफ फण्ड ७.३५ प्रतिशत, सिडि रेसियो २७३.४५ प्रतिशत, बेस रेट १५.४९ प्रतिशत र स्प्रेड दर ७.५५ प्रतिशत रहेको छ ।