काठमाण्डौ । जापानको सफ्टबैंकले अमेरिकी कम्पनी इन्टेलमा २ बिलियन डलर लगानी गर्ने घोषणा गरेको छ । सफ्टबैंकले इन्टेलको साधारण सेयर प्रतिकित्ता २३ डलरमा खरिद गर्ने भएको हो । कम्पनीको सेयरमूल्य सोमबार प्रतिकित्ता २३.६६ डलरमा बन्द भएको थियो । विस्तारित कारोबारमा कम्पनीको सेयरमूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता २५ डलर पुगेको छ ।
सफ्टबैंकले इन्टेलको २ प्रतिशत स्वामित्व खरिद गर्नेछ । यससँगै सफ्टबैंक कम्पनीको पाचौं ठूलो सेयरधनी बन्नेछ ।
इन्टेलको सेयरमूल्य गत वर्ष ६० प्रतिशतले घटेको थियो । जुन कम्पनीको आधा शताब्दी भन्दा लामो इतिहासकै खराब प्रदर्शन हो । यद्यपी यो वर्ष भने कम्पनीको सेयरमूल्य १८ प्रतिशतले वृद्धि भईसकेको छ ।
प्याट जेलसिंगर बर्खास्तमा परेपछि नयाँ सीईओको रुपमा लिप–बु टानले गत मार्चमा सीईओको जिम्मेवारी सम्हालेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा मागेसँगै टानले गत साता ट्रम्पसँग भेटघाट गरेका थिए । अमेरिकी सरकारले इन्टेलको इक्विटी स्टेक लिन चाहेको जनाइएको छ ।
उता सफ्टबैंक विश्वव्यापी चिप तथा एआई मार्केटको अग्रणी खेलाडीको रुपमा उदाएको छ । सन् २०१६ मा सफ्टबैंकले चिप डिजाइनर आर्मलाई ३२ बिलियन डलरमा अधिग्रहण गरेको थियो । यो कम्पनीको हालको मूल्य १५० बिलियन डलर पुगेको छ ।
यस्तै गत मार्चमा कम्पनीले अर्को चिप निर्माता कम्पनी एम्पेरे कम्प्युटिङलाई ६.५ बिलियन डलरमा अधिग्रहण गर्ने घोषणा गरेको थियो ।
सफ्टबैंक गत जनवरीमा डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘स्टारगेट’ घोषणा अन्तर्गत पर्छ । जसमा ओपन एआई र ओराकल जस्ता कम्पनीहरु रहेका छन् ।
यी ३ कम्पनीहरुले आगामी ४ वर्षभित्र एआई पूर्वाधार प्रोजेक्टमा १०० बिलियनदेखि ५०० बिलियन डलरसम्म लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।