काठमाण्डौ । नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ४१ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा पुस २८ गते काठमाण्डौको भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा गत आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने विषयसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, २०८२ असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको वित्तीय विवरणसहितको एकिकृत विवरण स्वीकृत गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तीको जानकारी दिने र एकजना संस्थापक सेयरधनीको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

