काठमाण्डौं । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनावका बीच अस्थायी युद्धविराम र आणविक वार्तालाई नयाँ ढाँचामा अघि बढाउने प्रयास तीव्र बनेको छ ।
दुवै पक्ष ६० दिने अन्तरिम समझदारीको नजिक पुगेको दाबी गरिए पनि अन्तिम राजनीतिक सहमति भने अझै टुंगो लाग्न बाँकी रहेको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन् ।
अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार प्रस्तावित समझदारीले दुई मुख्य उद्देश्य बोकेको छ— हाल कायम युद्धविरामलाई निरन्तरता दिने र इरानको आणविक कार्यक्रमबारे औपचारिक तथा संरचित वार्ताको वातावरण तयार गर्ने ।
वार्ताका केही आधारभूत विषयमा प्रगति भएपनि अन्तिम स्वीकृतिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय निर्णायक मानिएको छ ।
अमेरिकी प्रशासनभित्र पनि प्रस्तावित सहमतिबारे समीक्षा जारी रहेको संकेत देखिएको छ ।
उपराष्ट्रपति जेडी भान्सले संवाद सकारात्मक दिशामा गएको स्वीकार गर्दै पनि केही जटिल प्राविधिक विषय अझै समाधान हुन बाँकी रहेको बताएका छन् ।
उनका अनुसार युरेनियम संवर्धनको सीमा, मौजुदा आणविक भण्डारको व्यवस्थापन र अन्तर्राष्ट्रिय निगरानी प्रणालीजस्ता विषयमा थप स्पष्टता आवश्यक छ ।
वार्तामा सहभागी स्रोतहरूका अनुसार प्रस्तावित सम्झौताको प्रमुख केन्द्र इरानको उच्चस्तरीय युरेनियम कार्यक्रम नै रहेको छ ।
अमेरिकाले लामो समयदेखि इरानलाई हतियारस्तरमा पुग्न सक्ने संवर्धित युरेनियम उत्पादन रोक्न दबाब दिँदै आएको छ ।
त्यसको बदलामा प्रतिबन्ध खुकुलो बनाउने, व्यापारिक पहुँच विस्तार गर्ने तथा तेल निर्यातमा सहजता ल्याउने विकल्पमाथि छलफल भइरहेको बताइएको छ ।
सम्भावित सहमतिमा होर्मुज जलडमरूमध्यको सुरक्षालाई पनि विशेष महत्व दिइएको छ ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिने उक्त क्षेत्रमा व्यापारिक जहाजहरूको निर्बाध आवतजावत सुनिश्चित गर्ने, सुरक्षा जोखिम घटाउने तथा समुद्री तनाव नियन्त्रण गर्ने उपायहरूबारे दुवै पक्षबीच छलफल भएको जनाइएको छ ।
यद्यपि, कूटनीतिक संवाद अगाडि बढिरहँदा क्षेत्रीय सुरक्षा चुनौती भने कायम देखिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज आसपासका केही समुद्री गतिविधिमाथि चेतावनीपूर्ण निगरानी र कारबाही गरेको दाबी गरेको छ, जसले वार्ताको संवेदनशीलता झन् बढाएको विश्लेषकहरू बताउँछन् ।
यसअघि इरानी सञ्चारमाध्यमहरूमा १४ बुँदे अनौपचारिक समझदारीको चर्चा भएपनि अमेरिकी पक्षले त्यसलाई अस्वीकार गरेको थियो ।
इराननिकट स्रोतहरूले पनि वार्ता अझै अन्तिम चरणमा नपुगेको र केही बुँदामा मतभेद बाँकी रहेको जनाएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला हप्ताहरूमा अमेरिका–इरान संवाद सम्झौताउन्मुख रहेको संकेत बारम्बार दिएका छन् ।
तर, अमेरिकी प्रशासनले वार्ता असफल भए वैकल्पिक रणनीति अपनाउने सम्भावना पनि खुला राखेको छ ।
यही कारण अहिलेको कूटनीतिक प्रक्रिया सम्भावित सहमति र पुनः टकरावबीचको संवेदनशील मोडमा पुगेको विश्लेषण गरिएको छ ।

