काठमाण्डौ । स्विडेनको बहुराष्ट्रिय कार निर्माता कम्पनी भोल्भोले आफ्नो बहुसंख्यक स्वामित्व रहेको चिनियाँ कम्पनी ग्ली होल्डिङ ग्रुपद्वारा विकसित कनेक्टेड कार प्रविधि प्रयोग भएका सवारीसाधन अमेरिकामा बिक्री गर्न विशेष अनुमति प्राप्त गरेको जनाएको छ।
कम्पनीले मे २६ मा जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी वाणिज्य विभागअन्तर्गतको अफिस अफ इन्फरमेशन एण्ड कम्युनिकेशन्स टेक्नोलोजी एण्ड सर्भिसेसले यो विशेष स्वीकृति प्रदान गरेको हो।
सन् २०२५ को जनवरीमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाईडेन प्रशासनले चीनमा विकसित सवारीसाधन सफ्टवेयर तथा हार्डवेयरमाथि कडा नियन्त्रण गर्ने नियम अन्तिम रूप दिएको थियो। उक्त नियमअनुसार चिनियाँ प्रविधिसँग सम्बन्धित अधिकांश कनेक्टेड सवारीसाधनलाई अमेरिकी बजारमा प्रवेश गर्न रोक लगाइएको थियो।
विशेषगरी चीनमा विकसित तथा सञ्चालन हुने अधिकांश सवारीसाधन सफ्टवेयरमाथिको प्रतिबन्ध सन् २०२६ मार्चदेखि २०२७ मोडेल वर्षका गाडीहरूमा लागू हुने व्यवस्था गरिएको थियो। यसले चिनियाँ स्वामित्व वा प्रभाव रहेका अटोमोबाइल कम्पनीहरूलाई समेत समेटेको थियो।
तर भोल्भो कार्सले अमेरिकी वाणिज्य विभागले तोकेको प्रक्रिया पूरा गर्दै विशेष स्वीकृति प्राप्त गरेको जनाएको छ। कम्पनीका अनुसार यसको शासन व्यवस्था, प्रविधि सुरक्षा तथा डाटा संरक्षण सम्बन्धी विषयमा अमेरिकी अधिकारीहरूसँग विस्तृत छलफलपछि अनुमति प्रदान गरिएको हो।
अमेरिका भोल्भोका लागि सबैभन्दा महत्वपूर्ण बजारमध्ये एक हो। कम्पनीको चल्र्सटनमा उत्पादन केन्द्र रहेको छ, जहाँ हालसम्म १.३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरिएको छ। उक्त प्लान्टमार्फत २ हजार भन्दा बढी रोजगारी सिर्जना भएको कम्पनीले जनाएको छ।
भोल्भोले सन् २०२५ सेप्टेम्बरमा उक्त कारखानामा थप लगानी गर्दै सन् २०३० अघि दुई नयाँ सवारी मोडेल उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो।
गत वर्ष अमेरिकामा आफ्नो ७०औँ वार्षिकोत्सव मनाएको भोल्भो कार्सका हाल ४८ राज्यमा २८१ डिलर नेटवर्क रहेका छन्। कम्पनीका अनुसार अमेरिकाभर करिब ११ हजार ५०० जना प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यससँग आबद्ध छन्।

