काठमाण्डौ । पूर्व गृहमन्त्री सुधन गुरुङमाथि लागेको आर्थिक पारदर्शिता सम्बन्धी आरोपको छानबिन गरिरहेको उच्चस्तरीय समितिले सरकारसँग थप पाँच दिन समय मागेको छ। प्रारम्भिक रूपमा दिइएको १५ दिने कार्यावधि सकिन लाग्दा प्रतिवेदन लेखन कार्य सम्पन्न नभएकाले समितिले समय थप गर्न आग्रह गरेको हो।
पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित समितिले अनुसन्धानको अधिकांश प्रक्रिया टुंग्याइसकेको जनाएको छ। समितिका सदस्य अच्युतमणि न्यौपानेका अनुसार गुरुङसँगको बयानसहित आवश्यक तथ्य संकलनको काम पूरा भइसकेको छ भने अब अन्तिम प्रतिवेदन तयार पार्ने चरण बाँकी छ।
वैशाख २८ गते मन्त्रिपरिषद्को निर्णयबाट गठित समितिलाई गुरुङको आर्थिक कारोबार र सेयर लगानीसम्बन्धी सार्वजनिक रूपमा उठेका प्रश्नहरूको अध्ययन तथा छानबिन गर्ने जिम्मेवारी दिइएको थियो। समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन्।
गुरुङमाथि व्यवसायी दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गरिएको सेयर लगानीको स्रोतबारे प्रश्न उठेको थियो। सोही विषय सार्वजनिक बहसको केन्द्र बनेपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

