काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये २८ जना उम्मेदवारको दरखास्त स्वीकृत गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आवश्यक कानूनी प्रक्रिया पूरा गरेका आवेदकहरूको नामावली प्रकाशन गरेको हो।
मन्त्रालयका अनुसार ‘सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ मा उल्लेखित व्यवस्था अनुरूप आवेदन दिएका उम्मेदवारहरूको विवरण परीक्षण गरी योग्य देखिएका २८ जनाको आवेदन स्वीकृत गरिएको हो।
अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि २०८३ जेठ ९ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो।
सार्वजनिक गरिएको सूचीअनुसार सञ्चार, प्रशासन, शिक्षा, नीतिनिर्माण तथा विभिन्न पेशागत क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू अध्यक्ष पदको प्रतिस्पर्धामा रहेका छन्।
स्वीकृत सूचीमा अमरध्वज लामा (काभ्रेपलाञ्चोक), अच्युतमकुमार पोखरेल (सिराहा), पुनम पौडेल (ललितपुर), केदारनाथ कोइराला (भक्तपुर), डा. मधुसुधन न्यौपाने (काठमाडौँ), आलोककुमार तिवारी (कपिलवस्तु), लक्ष्मण हुमागाईं (काभ्रे), पुष्करराज गौतम (काठमाडौँ), भुवनप्रसाद आचार्य (पर्वत) र उत्तरसिंह विष्ट (कैलाली) रहेका छन्।
यस्तै, मनोहरि थापा (उदयपुर), सुरेश शर्मा (काठमाडौँं, चिन्तामणि बराल (गुल्मी), बुद्धिबहादुर केसी (काठमाडौँ), नवराज सापकोटा (काठमाडौँ), रुद्रबहादुर खड्का (रुकुम पश्चिम), तिलकजंग बुढाथोकी (धनकुटा), हिक्मतबहादुर रावल (कैलाली), विश्वराज खनाल (तनहुँ) तथा शरदचन्द्र अधिकारी (संखुवासभा) को आवेदन पनि स्वीकृत भएको मन्त्रालयले जनाएको छ।
यसैगरी, सुभाषकुमार साह वियोगी (धनुषा), प्रद्युम्न पौडेल (काठमाडौँ), भेषराज पाण्डे (कपिलवस्तु), कुमारीनिमा काफ्ले (कञ्चनपुर), शिशिर पौडेल (रुपन्देही), गोविन्द भण्डारी (भक्तपुर), विवेक रेग्मी (गोरखा) र धनबहादुर मिजार (नुवाकोट) पनि स्वीकृत उम्मेदवारको सूचीमा परेका छन्।
सार्वजनिक सेवा प्रसारण संस्था सञ्चार क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको निकाय भएकाले यसको नेतृत्व चयन प्रक्रियालाई महत्वका साथ हेरिएको छ।
संस्थाको अध्यक्ष पदले नीतिगत नेतृत्व, संस्थागत व्यवस्थापन, सार्वजनिक प्रसारण सेवाको प्रभावकारिता तथा सम्पादकीय स्वतन्त्रतासँग सम्बन्धित विषयमा भूमिका खेल्ने अपेक्षा गरिन्छ।
अब स्वीकृत भएका उम्मेदवारहरूमध्येबाट कार्यविधिअनुसार थप मूल्यांकन, छनोट तथा सिफारिस प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
अन्तिम सिफारिसपछि सरकारले अध्यक्ष पदमा नियुक्ति प्रक्रिया टुंग्याउनेछ।

