काठमाण्डौ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सभासमक्ष पढेर सुनाउने कार्यसूची रहेको छ।
यस्तै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन्। उक्त प्रस्तावमाथि राष्ट्रियसभामा सामान्य छलफल सुरु हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

