काठमाण्डौ । नेपालको अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा निरन्तर सुधार देखिँदै गएको छ। नेपाल पर्यटन बोर्ड र अध्यागमन विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार मे २०२६ मा नेपालले कुल १ लाख २ हजार ६२६ अन्तर्राष्ट्रिय पर्यटक स्वागत गरेको छ ।
यो संख्या मे २०२५ को ८६ हजार २१६ आगमनको तुलनामा १९ प्रतिशत वृद्धि हो। त्यस्तै, कोभिड–१९ महामारीपूर्वको मे २०१९ मा दर्ता गरिएको ७८ हजार ३२९ आगमनको तुलनामा यो वर्षको आगमन करिब ३१ प्रतिशतले बढी रहेको तथ्यांकले देखाएको छ।
देशगत आगमन विवरणअनुसार भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार बनेको छ । जसले कुल आगमनको करिब ३९.७४ प्रतिशत ओगटेको छ । मे महिनामा ४० हजार ७८२ भारतीय पर्यटक नेपाल आएका छन् ।
त्यसपछि चीनबाट ११ हजार ५१४ जना, अमेरिकाबाट ९ हजार, बंगलादेशबाट ५ हजार २९८ र बेलायतबाट ३ हजार ३७५ जना पर्यटक नेपाल भित्रिएका छन् ।

