काठमाण्डौ । दक्षिण कोरियाको सेयर बजारले हालै विश्वव्यापी इक्विटी बजारको र्याङकिङमा महत्वपूर्ण छलाङ लगाउँदै भारतलाई पछि पारेको छ । भारतलाई पछि पार्दै दक्षिण कोरियाली सेयरबजार विश्वको छैटौँ ठूलो स्टक बजार बन्न सफल भएको छ।
ब्लूमबर्गको रिपोर्ट अनुसार, दक्षिण कोरियामा सूचीकृत कम्पनीहरूको कुल बजार पूँजीकरण यस वर्ष करिब ८६ प्रतिशतले वृद्धि भई झण्डै ५ ट्रिलियन डलर पुगेको छ । जबकि भारतको बजार पूँजीकरण घटेर करिब ४.८ ट्रिलियन डलरमा सीमित भएको छ। यस परिवर्तनसँगै विश्वका शीर्ष इक्विटी बजारहरूमा अमेरिका पहिलो, चीन दोस्रो, जापान तेस्रो, हङकङ चौथो र ताइवान पाँचौँ स्थानमा रहेका छन्।
यस तीव्र वृद्धिको मुख्य कारण दक्षिण कोरियाका दुई प्रमुख टेक कम्पनीहरू सामसुङ इलेक्ट्रोनिक्स र एसके हाईनिक्स इंकलाई मानिएको छ, जसले एआई र सेमीकन्डक्टरको बढ्दो मागबाट ठूलो फाइदा उठाएका छन्। यी दुवै कम्पनी हालै ट्रिलियन डलर क्लबमा प्रवेश गरेका छन्, जसले लगानीकर्ताहरूको विश्वास अझ मजबुत बनाएको छ र सम्पूर्ण कोरियाली बजारमा सकारात्मक प्रभाव पारेको छ।
विश्लेषकहरूका अनुसार, एआईमा आधारित प्रविधिको तीव्र विस्तारले मेमोरी चिप्सको विश्वव्यापी मागमा उल्लेखनीय वृद्धि ल्याएको छ, जसले सामसुङ र एसके हाईनिक्सको आम्दानी तथा मूल्याङ्कनमा ऐतिहासिक वृद्धि गराएको छ।
अर्कोतर्फ, भारतीय बजारमा विदेशी लगानीकर्ताहरूको बिक्री, मुद्राको कमजोरी र एआई तथा सेमीकन्डक्टरजस्ता उच्च विकास क्षेत्रहरूमा सीमित सहभागिताका कारण हालैका दिनहरूमा दबाब देखिएको छ।

