काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित ‘स्तम्भ ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं । आज राजधानीमा मौसम बदली भएको थियो । यहि कारण हुन सक्छ ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति सामान्य नै देखिन्थ्यो । बिहानको ११ बज्दै थियो । आजको पहिलो प्रहरमा बजार बढेर कारोबार भएको थियो ।
यत्तिकैमा एक लगानीकर्ताले भने जलविद्युतमा चमक आयो है ! साथीहरु । यो क्षेत्रमा ट्रेन्ड रिर्भसल होला जस्तो छ । यसको लागि त आज बढेर बन्द हुनु पर्छ है ।’ उनी सँगै बसेका एक लगानीकर्ताले भने, ‘यो टेक्निकल भनेको पनि त्यस्तै हो । कहिले मिल्छ कहिले मिल्दैन ।’
यही ब्रोकरमा बसेका एक लगानीकर्ताले बुद्धभूमि , एचपीपीएल , एचआईडीसीएल जस्ता जलविद्युतमा चमक आउने चर्चा सुनको बताए । उनले थप्दै भने, ‘मैले त यी कम्पनीहरुलाई वाच लिष्टमा राखेको छु । तपाइहरु पनि सोच बिचार गर्नुहोस् ।’
यसै ब्रोकरमा केही लगानीकर्ताहरुले गभर्नर नियुक्तिमा सरकारले चलखेल गरेर ढिलाई गरेको पनि आरोप लगाए । उनीहरुले सरकारको नीति तथा कार्यक्रम राम्रै आएको बताउदै अहिलेको सरकारले लगाएको करलाई अन्तिम कर बनाउनु पर्ने रामेश्वर खानलको लाइनमा नै नीति तथा कार्यक्रम आएको चर्चा गरे ।
तर सरकारले गभर्नर नियुक्तिमा विलम्ब गरेको उनीहरुको गुनासो थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अहिले बजारमा लगानीकर्ता लो क्यापबाट मिड क्याप र हाईक्यापतर्फ लागेको दाबी गरे । यसबेलासम्म दिनको १२ बजिसकेको थियो । बजार दोहोरो अंकले बढेको थियो ।
यहाँबाट हामी नजिकै रहेको इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिती राम्रै थियो । लगानीकर्ताहरु राजनीतिक चर्चा गरेर बसेका थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने ‘स्थानिय नेताहरुले यसो बाटो बनाए जस्तो गर्छन ढुङगा पल्टाए जस्तो गर्छन् अनि बजेट झ्वाम ।’ उनीसँगै बसेका अर्को एक लगानीकर्ताले भने, ‘सेयर बजारमा पनि खेलाडीहरुले गर्ने त्यही त हो नि । बढ्छ, बढ्छ भन्यो बेचर टाप ! सोझा जति कित्ता हेर्यो बस्यो ।’ उनले उदाहरण दिँदै भने, ‘कुनै पनि कम्पनीको बस्ेसरी चर्चा भयो भने हुने त्यही रहेछ नि ! अब त बुझियो । यो एनआरएन र सीएचडीसीमा पनि कुन दिन त्यस्तै हुन्छ ।’
ब्रोकर हाउसमा यस्तै गफ चल्दै थिए । यहाँबाट हामी नजिकै रहेको दीप शिखा धितोपत्र (स्टक ब्रोकर नम्बर ३८) मा पुग्यौं । यस ब्रोकरमा केही महिला लगानीकर्ताहरु सेयर कारोबार गरेर बसेका थिए । ती लगानीकर्ताहरुले पनि एचआईडीसीएल र एनआरएन कम्पनीको चर्चा गर्दै थिए । यस ब्रोकरमा भेटिएका लगानीकर्ता अब बजेट आउदै गरेकाले बजारले गति लिनेमा ढुक्क देखिए ।
केही समयको बसाई पछि हामी अनामनगरमा नै रहेको भोले गणेष सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६१ )मा पुग्यौं । यहाँ लगानीकर्ताको उपस्थिती सामान्य थियो । दुई–तीन जना लगानीकर्ता मात्रै बजार हेरेर बसेका थिए । आज २ बजे पछि बजारमा बिक्री दबाब परेको थियो । ‘लौ साथीहरु ! खेलाडीले हामीलाई युनिभर्सल पावर पछि फेरि एचआइडीसीएमा फसाए जस्ता छन् । सामजिक सञ्जालमा बेसरी चर्चा थियो । बेच्न पो रहेछ,’ एक लगानीकर्ताले भनेको सुनियो । उनी सँगै बसेका एक लगानीकर्ताले भने, ‘यो सेयर बजार भनेकै यस्तै रहेछ फस्ने र फसाउने खेल ! ’