काठमाण्डौ । आज सेयर बजारमा उछाल आउदा लगानीकर्ताको सम्पत्ति १ खर्ब ३५ अर्ब रुपैयाँले बढेको छ । आजको बजारको बढोत्तरीसँगै धितोपत्र बजार पूँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
अघिल्लो दिनपनि धितोपत्र बजार पूँजीकरणले रेकर्ड कायम गरेको थियो । उक्त दिन धितोपत्र बजार पूँजीकरण ४८ खर्ब २७ अर्ब पुगेको थियो । नेप्से परिसूचकमा उच्च अंकको सुधार आउदा धितोपत्र बजार पूँजीकरणले लगातार दुईदिन रेकर्ड कायम गरेको हो । यसरी एकैदिन लगानीकर्ताको सम्पत्ति १ खर्ब ३५ अर्बले बढ्न पुगेको छ ।
आज नेप्से परिसूचक २.७९ प्रतिशत अर्थात ८०.९७ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ९७३ विन्दुमा पुगेको छ । आज पूँजी बजारमा कारोबार पनि २० अर्ब ८ करोड बढी भएको छ । अघिल्लो दिन पनि नेप्से परिसूचक २१।७६ अंकले बढेको थियो ।
पछिल्लो समय मौद्रिक नीतिमा सेयर बजार लगायत समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने व्यवस्था भएसँगै नेप्से परिसूचकमा क्रमिक सुधार देखिएको छ । लचिलो मौद्रिक नीतिले लगानीकर्ताको मनोबल उकासिदा लामो समय साइडवेज चलेको पूँजी बजार चलायमान बन्न पुगेको छ ।