शनिबार, भाद्र ७,२०८२ 10:23:21
  • शनिबार, भाद्र ७,२०८२ 10:23:21
Global IME Bank Limited

अन्तिम १५ मिनेटको नियममा लगानीकर्ताको मन चञ्चले: पाँच महिनाअघि ल्याउन मरिहत्ते गरे, अहिले हटाउने दौडधूप

Hyundai Nepal
अन्तिम १५ मिनेटको नियममा लगानीकर्ताको मन चञ्चले: पाँच महिनाअघि ल्याउन मरिहत्ते गरे, अहिले हटाउने दौडधूप
Shivam Cement

काठमाण्डौं । बजार ३ हजारबाट घटेपछि पछिल्लो समय लगानीकर्ता दैनिकजसो नेप्से धाउन थालेका छन् ।  

लगानीकर्ताको भनाईअनुसार यसरी बजार दैनिक घट्नु पछाडिको एउटा प्रमुख कारण नेपाल स्टक एक्सचेञ्जले करिब ५ महिना अगाडि ल्याएको अन्तिम  १५ मिनेटमा भारित औषत गणना गर्ने नियम पनि हो ।  

नेप्सेको गत चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लाई कार्यान्वयन गर्दै चैत्र ७ गतेदेखि यो नियम लागू गरेको थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो नियमअनुसार २ः४५ पछिको १५ मिनेटको कारोबारलाई औषत कारोबार प्रणालीमा गणना गर्ने  गरिन्छ । यसरी अन्तिम १५ मिनेटको कारोबारलाई औषतमा गणना गर्ने नियमले घट्दो बजारमा झनै नकारात्मक प्रभाव पारेको लगानीकर्ताहरुले तर्क गर्न थालेका छन् । अझ रोचक त पाँच महिनाअघि यो नियमको पक्षमा ज्यान दिएर वकालत गर्ने लगानीकर्ताहरु पनि अहिले यो गलत रहेको भन्न थालेका छन् ।  

पाँच महिनाको अवधिमा बदलिएको लगानीकर्ताको विश्लेषण र चञ्चले मन देख्दा लाग्छ, कुनै पनि विषयमा पर्याप्त ज्ञान, अध्ययनबिना नै उनीहरु विश्लेषण गर्न हतारिन्छन् । बजारमा निश्चित व्यक्ति र समूहले बजारमा पहिला माहौल सिर्जना गर्ने र लगानीकर्ताहरुलाई प्रयोग गरेर आफूअनुकुल निर्णय गराउन नियामकलाई बाध्य पार्ने प्रयास गरेको देखिन्छ । १५ मिनेटवाला नियम पनि यस्तै स्वार्थ समूहको प्रयासबाट कार्यान्वयनमा आएको थियो । तर, यसको रिजल्ट सोंचेजस्तो नआएपछि पहिलो समर्थन गर्नेहरु नै विरोधमा उत्रिएका छन् ।  

नेपालको पूँजीबजारका नियामकहरु पनि कुनै पनि व्यवस्थाको अल्पकालीन र दीर्घकालीन प्रभावको विषयमा पर्याप्त अध्ययन नै नगरी दवाब र प्रभावको भरमा नयाँ नयाँ नियम ल्याउन तल्लिन रहेका यो घटनाक्रमले देखाउँछ ।  

के भन्छन् अगुवा लगानीकर्ता ?

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘बढ्दो बजारमा त यसले खासै केही प्रभाव पर्ने थिएन । अन्तिम समयमा बजारमा चलखेल भयो भनेर नै यो नियम लगानीकर्ताहरुले नै माग गरेका थिए । छिमेकी मुलुकमा पनि यस्तो नियम छ । हामीले बजारमा चलखेल हुने ५÷७ वटा कम्पनीहरुमा मात्रै यस्तो नियम लगाउन भनेका थियौं । यसले समग्र सेयर बजारलाई नै असर गर्यो । यहीकारण अहिले आएर सोचबिचार गर्नुपर्ने देखियो।’  

रौनियार तिनै व्यक्तिमध्येका एक हुन्, जसले सेयर बजारमा चलखेल भएको भन्दै ५ महिनाअघि चाहिँ १५ मिनेटमा भारित औसत गणनाको नियम कार्यान्वयन भएकोमा मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनले त्यसबेला भनेका थिए–‘यो त धेरै राम्रो कुरा भयो, हामीले धेरै पहिलेदेखि मागेको माग सम्बोधन भएको छ। कारोबारको अन्तिम समयमा गएर अत्यधिक बढाउने र घटाउने गरेर बजारमा चलखेल भइरहेको थियो, त्यो रोकिने भयो।’

उनले यो नियम कार्यान्वयन हुँदै गर्दा औसत गरेर मूल्य निर्धारण गर्नाले बजारलाई फाइदा पुग्ने समेत दाबी गरेका थिए । ‘यसले बजारलाई धेरै राम्रो गर्छ’, रौनियारले त्यसबेला भनेका थिए, ‘यसले बजारलाई लामो समयसम्म फाइदा पुराउँछ । एभ्रेजिङ गर्ने कुरा विश्वभरको शेयर बजारमा छ। विश्वमा भएका त्यस्ता खालको असल अभ्यासहरू नेपालमा भित्राउँदा बजारलाई राम्रै गर्छ ।’

तर, ५ महिनापछि लगानीकर्ताहरुले दैनिकजसो यो नियम परिवर्तनका लागि प्रयास गरिरहेको समयमा भने रौनियारको भाषा केही फेरिएजस्तो देखिन्छ । शुक्रबार बिजशालासँग कुरा गर्दै उनले भने–‘ब्रोकरहरुले पनि यसले बजारलाई प्रभाव पारेको बताइरहेका छन् । मार्जिन कारोबार नल्याई यो नियम लगाउनु हतार गरियो । पछि अध्ययन गर्ने गरी अहिलेलाई यो नियम हटाउँदा नै उपयुक्त हुन्छ ।’ 

लगानीकर्ता खोमनाथ प्यकुरेल अन्तिम २ मिनेटमा एमकेटी अप्सन खारेजीको माग लगानीकर्ताले गरेकोमा नेप्सेले १५ मिनेटको नियम ल्याएको दाबी गर्दै अहिले आफूहरुले नखोजेको त्यही १५ मिनेटको औसतवाला नियम खारेजीको माग गरेको बताए ।  

नेपाल सेयरधनी संघका सदस्य सूरोज खड्काले पनि नेप्समा नै उपस्थित भएर भने, ‘यो नियम लगानीकर्ताहरुले नै माग गरेर ल्याएको हो । जुत्ताले खुट्टा खाएपछि जुत्ता फेर्नुपर्छ । यो नियमले पनि लगानीकर्ताहरुलाई सास्ती दिएपछि पुनर्विचार हुन आवश्यक छ ।’  

नेपाल पूँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौंलागाइले यो १५ मिनेटको नियम यसअघि आम लगानीकर्ताहरुसँग छलफल र सल्लाह नै नगरी केही मुठ्ठीभरका लगानीकर्ताको उक्साहटमा ल्याइएको आरोप लगाए । ‘यसलाई एमकेटिको अप्सनको बिकल्पमा ल्याइयो । यसमा नेप्सेसँग गणना गर्नका लागि प्राविधिक औजार नै छैन । सर्टसेल, मार्केट अप्सन जस्ता औजार नल्याई नेप्सेले १५ मिनेटको नियम ल्यायो, यहीँनेर समस्या भयो । यो नियम हचुवाको भरमा आयो, अहिले दुःख पाइयो ।’ उनले भने ।  

उनले कुन समूहको कति वेटेज रहेको छ भन्ने राम्रोसँग निक्र्यौल नै नगरी यो नियम ल्याइएको आरोप पनि लगाए ।  

यस्ता नियमको बिषयमा खासगरी लगानीकर्ताहरुले समय–समयमा आफ्ना माग र अडानहरु भने फेर्ने गरेको पाइन्छ । यसअघि पनि लगानीकर्ताहरुले शुक्रबार सेयर कारोबार गर्न माग गरेका थिए । लगानीकर्ताहरुको मागअनुुसार नेप्सेले केही समय शुक्रबार पनि सेयर कारोबार गर्यो तर पछि बजार घट्न थालेपछि लगानीकर्ताहरुको मागअनुसार नै पुनः शुक्रबारको कारोबार स्थगन गर्नुपरेको थियो ।  

के गर्ला नियामक ?

पछिल्लो समय दैनिकजसो बजारबाट लगानीकर्ताहरु १५ मिनेटको बिषयलाई लिएर नेप्से घेर्न पुगेपछि सीइओ चूडामणि चापागाइँ रनभुल्लमा छन् । खासगरि यो नियम उनी आउनु भन्दा पहिले नै कार्यान्वयनमा आइसकेको थियो ।  

नेप्सेमा पुगेका लगानीकर्ताहरुलाई सीइओ चापागाइले सिस्टममा कुनै पनि त्रुटि नभएको र त्यस्तो भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताइरहेका छन् । चापागाइले एकदिन सबै सरोकारवालाहरुलाई बोलाएर अन्तिम १५ मिनेटको बिषयमा हलमा नै लाइभ हेरेर निरीक्षण गर्ने प्रतिबद्धता पनि लगानीकर्ताहरुसँग गर्ने गरेका छन् ।  

लगानीकर्ता भने यो बिषयलाई लिएर यसअघि नै धितोपत्र बोर्ड पुगिसकेका छन् भने आँउदो आइतबार पनि जाने तयारीमा छन् । यो बिषय नेप्सेमा मात्रै सीमित नरहेर धितोपत्र बोर्ड नै अधिकारसम्पन्न रहेको छ । तर पुरानै व्यवस्थामा फर्किनलाई नेप्सेले टिप्पणी भने उठाएर पठाउनुपर्ने हुन्छ ।  

हाल धितोपत्र बोर्डमा सबै बोर्ड सदस्य नरहेका कारण लामो समयदेखि बोर्ड बैठक पनि बस्न सकेको छैन । प्रमुख नियामकले यो व्यवस्था हटाउन चाहेमा पनि बोर्ड बैठक बसेर कारोबार सञ्चालन विनियामवली २०७५ लाई संसोधन गर्नुपर्ने हुन्छ । जसका लागि केही समय भने लाग्न सक्ने देखिन्छ ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.