काठमाण्डौ । सेयर लगानीकर्ता तथा चर्चित कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेको दिनदेखि खाना नखाएका कारण बयान दिन नसक्ने अवस्थामा पुगेका छन् ।
उनलाई शुक्रबार प्रहरीले काठमाण्डौको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेको दिनदेखि नै आफूविरुद्ध धितोपत्र बोर्डले फाइल अगाडि बढाएर पूर्वाग्रह साँधेको, आफूजस्ता बजारका धेरै ठूला खेलाडीहरुलाई उन्मुक्ति दिने र उनीहरुसँग सम्बन्धित फाइल सेबोनमै थन्काउने अन्यायपूर्ण काम भएको र ती सबैमाथि कारबाही हुनुपर्ने तथा सेबोन भ्रष्टाचारमा चुर्लुम्म डूबेकोले त्यसमा संलग्नमाथि कारबाही हुनुपर्ने, सेबोनका अध्यक्ष समेत विभिन्न घूसकाण्डमा मुछिएकाले त्यसको निश्पक्ष छानबिन गर्नुपर्ने लगायतका माग राखी भोक हड्ताल थालेका थिए ।
हिरासतमा भोक हड्ताल थालेका उनले पानी मात्र पिएका र हालसम्म अन्न नखाएपछि शारीरिक कमजोरीले बयान दिने अवस्था समेत नरहेको उनका एक सहयोगी दाबी गरे ।
ती सहयोगीका अनुसार अग्रवालले भोलि(मंगलबार)देखि भने पानी समेत नखाई प्रहरी हिरासतमै अनसन थाल्ने घोषणा गरेका छन् ।
अग्रवालको पक्षमा उनका परिवारजनले हालेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई भोलि नै रहेको छ ।
नेपाल धितोपत्र बोर्ड(सेबोन)को प्रारम्भिक अनुसन्धानका क्रममा जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा भित्री कारोबार गरेको देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई अनुरोध गरिएको थियो । सेबोनले आफ्नो अनुसन्धान प्रतिवेदन सीआईबीलाई पठाएको केही दिनमै अग्रवाललाई पक्राउ गरी हिरासतमा राखिएको थियो ।
अनुसन्धान सकिएपछि थप कारबाहीका लागि अदालतमा पेश गरिने र त्यहीबाट अदालतले कारबाहीको आदेश जारी गर्नेछ ।

