काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गते बाग्लुङ नगरपालिकामा रहेको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा संस्थाको पूँजी वृद्धिको योजनाबारे छलफल गरी पारित गरिनेछ ।
यस्तै सभामा अन्य लघुवित्तसँग गाभ्ने÷गाभिने तथा प्राप्ति प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र यसका लागि नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गर्ने साथै चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै सञ्चालकहरुको मनोनयन÷नियुक्तिलाई अनुमोदन गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

