काठमाण्डौ । पूँजीबजारमा आबद्ध लाखौं लगानीकर्ताहरुले चुनावी घोषणापत्रहरुलाई हेरेर अरुभन्दा राम्रो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई खुलेरै मत दिएका थिए । बजारका लगानीकर्ताहरुको समेत अभूतपूर्व साथ पाएको रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा दुईतिहाई नजिकको मत पायो ।
सोही दलका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भयो । आफूले मत दिएको पार्टीको ५ वर्षसम्म टिक्ने सरकार बन्ने भएपछि सेयर बजारका लगानीकर्ता उत्साहित देखिए । बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि त सेयर बजारमा अभूतपूर्व उत्साह आउला र बजारले अलटाईम हाईभन्दा पनि धेरै माथिको उचाई चुम्ला भन्ने आशा गरेर बसेका लगानीकर्ताहरु आफैंले भोट दिएको र अरुलाई समेत भोट दिन कन्भिन्स गरेको दलको सरकार बनेको सात दिनमै पछुताउनुपर्ने अवस्था बनेको छ ।
सेयर बजारका लगानीकर्ताहरुको अपेक्षाविपरीत बजार मापन गर्ने परिसूचक नेप्से लगातार घटेर अरबौं सम्पत्ति बर्बाद भएपछि सरकार गठन भएको एकसाता पनि नबित्दै बालेन शाह नेतृत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग्न थालेका छन् । उनलाई युवा अर्थशास्त्री तथा अर्थतन्त्र राम्रोसँग बुझेका विज्ञ अर्थमन्त्रीको रुपमा हेरिने गरिएको छ । तर सेयर बजारका लगानीकर्ताको विश्वास जित्ने मामलामा भने डा. वाग्लेको नीति ब्याकफायर बन्न थालेको छ ।
सेयर लगानीकर्ताहरुले सामाजिक सञ्जालमा सरकारको समेत खुलेरै विरोध सुरु गरेका छन् । धेरै लगानीकर्ताहरुले 'चूपचाप, घण्टी छाप, पोर्टफोलियो पत्तासाफ'को अभियान चलाएका छन् । कतिपयले चाहिँ 'चूपचाप, घण्टी छाप, पोर्टफोलियो हाफ' ह्यासट्याग राखेर समेत सामाजिक सञ्जालहरुमा अर्थमन्त्री डा. वाग्लेको बजारप्रति उदासीन व्यवहारको खुलेरै विरोध सुरु गरेका छन् ।
आइतबार समेत बजार १०५ अंकले घट्न पुगेको छ । बालेन नेतृत्वको सरकार बनेपछिको दिनको हिसाब गर्ने हो भने नेप्से परिसूचक १८२ अंकले घटिसकेको छ । यसरी हेर्दा बालेन नेतृत्वमा सरकार बनेपछि बजार परिसूचक ६.१४ प्रतिशतले घटेको देखिन्छ ।
यो अवधिमा लगानीकर्ताहरुको अरबौं रुपैयाँ स्वाहा भएको छ । यो अवधिमा लगानीकर्ताले साढे ४ खर्ब रुपैयाँ गुमाइसकेका छन्।
बजारमा प्यानिक रुपले सप्लाई आएर लगानीकर्ताहरुमा त्रासको वातावरण सिर्जना हुँदा समेत निजी क्षेत्र र लगानीमैत्री नेताको रुपमा आफूलाई दाबी गर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समस्याको सही सम्बोधनको प्रयास नगरेका आरोप लागेको छ । लगानीकर्ताहरुले भेट्दा समेत बजारको समस्याको विषयमा उदासीन बनेको गम्भीर आरोप उनीमाथि लागेको छ भने यही सन्देश प्रवाह हुँदा आइतबार बजारमा थप प्यानिक अवस्था देखिएको छ ।
कतिपयले डा. वाग्ले र रास्वपा सरकारको बजारप्रतिको नीतिको कडा आलोचना गर्न थालेका छन् । एक अगुवा लगानीकर्ता दुर्गा काफ्लेले लेखेका छन्-'१०१ अंकको गिरावट, सबैलाई बधाई छ । जय घण्टी, जय विद्वान डा., देश बन्दैछ ।'

पवित्रा ज्ञवालीले व्यंग्यात्मक शैलीमा लेखेकी छिन्- 'इएनटी हस्पिटलमा लगानीकर्ताको भीड । कानको जाली फूटेर के हजूर । घण्टी टिनिनीनी....बालेन सरकार ।'

राजु शर्माले बजार बन्द भएपछि लेखेका छन्-' चूपचाप घण्टी छाप, पोर्टफोलियो भयो साफ ।'

पत्रकार समेत रहेका लेखनाथ न्यौपानेले लेखेका छन्- 'घण्टी छाप, पोर्टफोलियो साफ ।'

ताराप्रसाद फूल्लेलले लेखेका छन्-'सरकारलाई जानकारी छ कि छैन होला । सेयरबजारमा सर्वसाधारणको पनि लगानी छ भनेर ।'

बसन्त अर्यालले व्यंग्यात्मक शैलीमा लेखेका छन्-'बालेन्द्र सरकार आएपछि पहिलो सेञ्चुरी ।'

नोविन्द्र कट्वालले लेखेका छन्ः 'अस्ती उफ्री उफ्री चुपचाप घण्टीछाप भनेर हल्ला गर्ने लगानीकर्ता साथीभाईहरुलाई घण्ट सरकारको बम्पर उपहार । लौ खाऊ खूदो । मज्जा आइराहोल हैन त ?'

एञ्जिला तिमिल्सिनाले पनि सेटायर गर्दै लेखेकी छिन्- 'बालेन सरकार जिन्दावाद, सेयर मार्केट मूर्दावाद । नत्र गाली मात्रै खाइन्छ ।'

सुवास कार्कीले लेखेका छन्- '७५ लाख लगानीकर्ता अनि यो सरकारको ठुलो समर्थक रहेको शेयरबजार दैनिक १०० अङ्कले घट्दा यो सरकार देख्दैन ?सुन्दैन ? सरकार छ है ,काम गर्दै छ है भनेर आत्मविश्वास दिलाउन सक्दैन ?आगोको झिल्को सुरुमा सानो नै हुन्छ ।'

प्रल्हाद पोखरेलले अर्थमन्त्रीको राजीनामा माग्दै स्टाटस लेखेका छन् ।

विकास पौडेल नामक लगानीकर्ताले लेखेका छन्- 'नेपालि पुँजि बजारमा सरकारको अस्पष्ट निति कमजोर समर्थन र ढिलो निणय ले बजारले विश्वास गुमाउदैछ भने देशको आर्थिक दिशा नै अन्योलमा परेको छ।'

एक लगानीकर्ताले त घण्टीमा भोट हालेको पश्चताप गरेको शैलीमा स्टाटस पोस्ट गरेका समेत भेटिएको छ।

भिक्टर पौडेलले लेखेका छन्- 'मार्केट १०५ अंकले क्र्यास भयो । पब्लिक प्यानिक हुँदा पनि सरकारले अझै यसबारे केही बोलेको छैन ।'

प्रदीप कुँवरले पनि अर्थमन्त्रीको राजीनामा माग्दै लेखेका छन्ः 'नैतिकताको आधारमा अर्थमन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ हैन भने केपि ओलि ले राजीनामा नदिनु पनि उचित नै थ्यो त्यो बेला ।'

रास्वपानिकटका नेता तथा कार्यकर्ताहरु भने बजार लगातार घटे पनि सरकारको बचाउमा लागेको देखिन्छ । रास्वपाका केन्द्रीय सदस्य समेत रहेका लगानीकर्ता रोहन कार्कीले लेखेका छन्ः 'देशको बिभिन्न घटना र नकारात्मक हल्लाको कारण सरकारले सकारात्मक नै काम गरिरहेको भए पनि लगानीकर्तालाई बिश्वासमा लिन नसक्दा हालसम्म पब्लिक प्यानिक हुँदा नयाँ सरकार निर्माणपछि करिब-४०० अर्बमाथि )सवा ४ खर्ब लगानीकर्ताको सम्पत्ति गुमिसकेको छ । नोटः पूँजीबजारमा प्रत्यक्ष रुपमा ७५ लाख नेपाली लगानीकर्ताको लगानी खाता रहेको छ ।'

लगानीकर्ता सुशील जैनले लेखेका छन्-' सक्छौ आफ्नो ठाउँ बाट ट्रेडिङ हल्ट गर, कित्ता होल्ड गर, नत्र फाल्तुको रोइलो बन्द गर । शेयर बेच्ने आफैं अनि अर्थमन्त्रीले सम्बोधन गरेन भनेर रोइलो गर्ने ?'


