काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि सेयर बजारका लगानीकर्ताहरुले निकै धेरै सम्पत्ति गुमाउन पुगेका छन् ।
बालेन शाहको नेतृत्वमा झण्डै दुईतिहाई नजिकको सरकार बनेपछिका ६ कारोबार दिनमा लगानीकर्ताहरुले ४५ हजार ८०० करोड सम्पत्ति गुमाउन पुगेका हुन् । यो भनेको ४ खर्ब ५८ अर्ब अर्थात ४५८ अर्ब रुपैयाँ बराबरको सम्पत्ति हो ।
बालेन शाह नेतृत्वमा सरकार बन्नुअघि ५ वर्षसम्म ढुक्कले चल्ने स्थायी सरकार बन्न लागेको खबरबाट उत्साहित भएर बजार परिसूचक निकै माथि पुगी कुल बजार पूँजीकरण समेत ५० खर्ब नाघेको थियो ।
जब सरकार गठन भयो, त्यसपछि भने बजारले उल्टो गति समातिरहेको छ । सरकारले निजी क्षेत्रमाथि गरेको धरपकड, अर्थमन्त्रीले पूँजीबजारलाई सम्बोधन गर्न अस्वीकार गरेको खबर लगायतका कारण लगानीकर्ताको मनोबल निरन्तर ओरालो लागिरहेको छ ।
यहीकारण आज-आइतबार ) बजार बन्द हुँदा कुल पूँजीकरण घटेर ४५ खर्ब ५० अर्बमा सीमित बन्न पुगेको हो । यसरी हेर्दा लगानीकर्ताले केवल ८ कारोबार दिनमा ४५८ अर्ब सम्पत्ति गुमाएका छन् ।
यो अवधिमा नेप्से परिसूचक पनि ६ प्रतिशतभन्दा बढीले घटिसकेको छ ।
कुल बजार पूँजीकरण ५० खर्ब माथि हुँदा नेप्से परिसूचक २९६०.४० को विन्दूमा पुगेको थियो । त्यसपछि भनेर नेप्से पनि निरन्तर घट्दै आइतबार बजार बन्द हुँदासम्म २६७६.६८ को विन्दूमा सीमित बन्न पुगिसकेको छ । यसरी जम्मा ८ कारोबार दिनमा नेप्से परिसूचक २८४ अंक हाराहारीले ओरालो लागेको देखिएको छ ।

