काठमाण्डौ । सरकारको नयाँ बिदा नीतिले सेयर बजारको साप्ताहिक तालिका फेरिने संकेत देखिएको छ। अब प्रश्न उठेको छ: नेप्से सातामा चार दिन मात्रै चल्ने हो कि शुक्रबार पनि कारोबार खुला राखिनेछ ?
सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको दबाबलाई मध्यनजर गर्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजारको यसअघिको तालिका प्रभावित हुने निश्चित देखिएको छ । सेयरबजार हाल आइतबारदेखि बिहीबारसम्म खुल्दै आएको छ । शुक्रबार र शनिवार भने बन्द हुन्छ ।
सरकारले कार्यालय समयमा नयाँ तालिका सार्वजनिक गरेसँगै अब आइतबार सेयर कारोबार नहुने निश्चित नै भइसकेको छ । किनभने सरकारले शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ, इन्धनको आपूर्ति सहज नहुञ्जेलसम्मका लागि । यहीकारण सेयर बजारमा अन्यौल उत्पन्न भएको छ: बजार अब सोमबारदेखि बिहीबारसम्म अर्थात साताको ४ दिनमा मात्र खुल्छ कि शुक्रबार पनि कारोबार खोलेर ५ दिन नै खुल्छ त ?
यस विषयमा हामीले नेप्सेका केही अधिकारीहरुसँग कुराकानी गरेका थियौं । सो क्रममा उनीहरुले साताको ४ दिन मात्र कारोबार हुने वा शुक्रबार समेत खोलेर ५ दिन नै कारोबार सञ्चालन गर्ने दुई विकल्पमा आधारित रही छलफल प्रारम्भ हुने बताएका छन् । 'सरकारले सार्वजनिक विदामा नयाँ निर्णय गरेपछि सेयर बजार कति दिन खोल्ने भन्ने विषयमा उच्च व्यवस्थापनमा छलफल सुरु भइसकेको छ ।' नेप्सेका एक अधिकारीले भने-'त्यहाँबाट निस्किएको निश्कर्षका आधारमा सञ्चालक समितिसँग समेत छलफल गरी हाम्रो निर्णय सार्वजनिक गर्नेछौं । तर, चार दिन मात्र बजार खुलाउने वा शुक्रबार पनि कारोबार खोली ५ दिन नै बजार खुलाउने भन्ने दुवै विकल्पमा निर्णय हुनसक्ने उत्तिकै सम्भावना देखिन्छ ।'
यस्तो अभ्यास नेपालमा नयाँ भने होइन। २०७९ सालमा पनि सरकारले शनिबार–आइतबार बिदा घोषणा गर्दा नेप्सेले शुक्रबार कारोबार खुला राखेर सातामा पाँच दिनको चक्र कायम गरेको थियो। तर, त्यो निर्णय छोटो समयमै फिर्ता भएपछि बजार फेरि पुरानै तालिकामा फर्किएको थियो।

