काठमाण्डौ । दैनिक पहिरो व्यहोेरिरहेको बजारको समस्या समाधानको आश्वासन अर्थमन्त्रीबाट पाएपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ ।
सोमबार बिहान अर्थमन्त्रीले स्टक ब्रोकरहरुलाई बोलाएर सिंहदरबारमै आधाघण्टा छलफल गरेका थिए । सो क्रममा स्टक ब्रोकरहरुले बजारको समस्या राख्दै लगानीकर्ताहरुमा त्रास सिर्जना भएको र विभिन्न कारणले मनोबल कमजोर भएकोले सरकारले त्यसलाई समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।
अर्थमन्त्रीले पूँजीबजारलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गर्दै सम्पत्ति शुद्धिकरण सम्बन्धी कामहरुका कारण लगानीकर्ता त्रसित हुनुपर्ने अवस्था नरहेको बताएका थिए । त्यस्तै, अर्थमन्त्रीले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयलाई पनि चाँडै कार्यान्वयनमा ल्याइने आश्वासन दिएका थिए ।
बजारको समस्या समाधानका लागि र लगानीकर्ताको कमजोर मनोबललाई माथि उठाउन आफूले हरसम्भव प्रयास गर्ने आश्वासन दिएपछि त्यही सूचना सञ्चारमाध्यमहरुमार्फत बाहिरिएपछि लगानीकर्ताहरु आशावादी बन्दा बजारमा आज उछालको अवस्था देखिएको हो ।
यहीकारण सेयर बजार परिसूचक-नेप्से) कारोबारको पहिलो एक घण्टामा ५८ अंकले बढेर २७३५ को विन्दूमा फर्किएको छ ।
बजारमा निकै ठूलो करेक्सन हुँदा राम्रा कम्पनीको सेयर पनि सस्तोमा पाइने अवसरको सदुपयोग गरी लगानीकर्ताले खरीदारी बढाउँदा एकघण्टामै करिब ४ अर्बको सेयर कारोबार भइसकेको देखिएको छ ।
म्युचुअल फण्डबाहेक सबै समूहको सूचक हराभरा भएका छन् । सबैभन्दा ठूलो उछाल चाहिँ जलविद्युत समूहमा देखिएको छ, यो समूहको सूचक ३.२० प्रतिशतले बढिसकेको छ । त्यसपछि होटल र बैंकिंग समूहमा उछालको अवस्था देखिएको छ ।
बजार अन्तिम कारोबार समयसम्म यही रफ्तारमा टिकेमा पुनः रौनक फर्किने र बढोत्तरीको यात्रा सुरु हुने अनुमान गर्न सकिन्छ ।

