काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्स, स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य श्रमिकका लागि न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा अनिवार्य गर्ने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले मन्त्रालयले हालै जारी गरेको परिपत्रमार्फत सम्बन्धित सबै रोजगारदातालाई कानूनअनुसार न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए। उनका अनुसार श्रम ऐन, २०७४ को दफा १८ उपदफा (३) ले तालिमका रूपमा कार्यरत व्यक्तिलाई समेत न्यूनतम पारिश्रमिकसहित बिरामी बिदा, उपदान, सञ्चय कोष र बीमालगायतका सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।
मन्त्री साहले सबै श्रमिकले उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा पाउनुपर्ने सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै रोजगारदातालाई कानून कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरे।
उनले विभिन्न अस्पताल, स्वास्थ्य संस्था तथा निजी एवं संस्थागत विद्यालयमा कार्यरत कर्मचारीहरूले न्यूनतम पारिश्रमिक तथा सुविधा नपाएको गुनासो आएपछि मन्त्रालयले उक्त निर्णय लिन बाध्य भएको स्पष्ट पारे ।
मन्त्रालयले जारी गरेको परिपत्रमार्फत सबै सम्बन्धित निकायलाई कानुनको पूर्ण पालना गर्न निर्देशन दिँदै उल्लङ्घन गर्ने रोजगारदातामाथि प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

