काठमाण्डौ । नेपालको पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा क्रियाशील आधिकारिक कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले पदबाट राजीनामा दिएका छन् ।
दुई दिनअघि उनले युनियन अध्यक्षको पदबाट राजीनामा गरेका हुन् ।
आफ्नै नेतृत्वको कार्यसमितिबाट आफूलाई असहयोग भएको आरोप लगाउँदै उनले राजीनामा गरेका स्रोतको भनाई छ ।
ढुंगानाले राजीनामा गरेपछि आगामी आइतबारसम्म युनियनको नयाँ तदर्थ समिति गठन गर्ने कर्मचारीको तयारी छ ।
पछिल्लो समय ढुंगानामाथि अर्थमन्त्री तथा मन्त्रालयका जिम्मेवार अधिकारीहरु, केही व्यापारिक घरानाको उक्साहटमा लागेर काम गरेको संगीन आरोप लाग्ने गरेको थियो । सरकारका उच्च अधिकारीहरुको निर्देशनमा सेबोनमा अनिश्चितकालीन हड्ताल गरी दैनिक काम नै अस्तव्यस्त पारेको, नेतृत्वलाई असहयोग गर्न अरुबाट परिचालित भएको लगायतका आरोप समेत लाग्ने गरेका थिए ।
पछिल्लो समय कर्मचारीहरुको माग अर्थमन्त्रालयबाट पूरा नभएपछि ढुंगानाले पुनः धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा लगायतका माग राखेर पुरानै शैलीमा हड्ताल गर्नुपर्नेमा जोड दिएका थिए । तर, पहिलाजस्तै लगानीकर्ताको काम ठप्प हुने गरी हड्ताल गर्न नहुने पक्षमा कर्मचारीहरुको बहुमत जुटेपछि उनी नैतिक संकटमा परेका थिए । सहकर्मीहरुबाटै ‘अर्थमन्त्रीले बचन दिएको कुरा पूरा नभएपछि उनको राजीनामा माग्ने कि सेबोन अध्यक्षको ?’ भन्ने प्रश्नहरुको सामना गर्नुपरेको थियो । यहीकारण सेबोनमा सक्रिय अर्को कर्मचारी संगठनसँग मिलेर सार्वजनिक गर्न ठीक्क पारिएको विज्ञप्तिको ड्राफ्ट पनि होल्ड भएको थियो ।
पछिल्लो समय युनियनको ब्यानरलाई ढुंगानाले दुरुपयोग गर्ने गरेका आरोप लगाउँदै सेबोनका अन्य कर्मचारीबाटै असहयोग हुन थालेपछि उनले त्यही विषय उल्लेख गरी राजीनामा दिएका बुझिएको छ ।

