काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड सेयर सरचना पारवतन गर्ने भएको छ । संस्थाले ले हाल सम्म कायम रहेको संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत सेयर स्वामित्व संरचनालाई संस्थापक सेयरधनी समूहको ६०.७८ र सर्वसाधारण सेयरधनी समूहको ३९.२२ प्रतिशत सेयर स्वामित्व हुने गरी सेयरधनीहरुको पुँजीको संरचनालाई परिवर्तन गर्न लागेको हो ।
संस्थाको सञ्चालक समितिको गत माघ २३ गते बसेको बैठकले साविकको विजय लघुवित्त तर्फको संस्थापक सेयरधनीहरुको नाममा कायम रहेको संस्थापक सेयरमध्ये एकिकृत संस्थाको कुल चुक्तापूँजीको ९.२२ प्रतिशत विन्दुले हुने सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय गरेको थियो ।
संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र धुलिखेलमा रहेको संस्थाको प्रधान कार्यालयमा सम्पर्क राखि लिखित रुपमा निवेदन दिन वा वित्तीय संस्थाको ईमेलमा निवेदन पठाउन संस्थाले आग्रह गरेको छ ।
तोकिएको म्याद भित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवदेन नदिए संस्थापक सेयरधनीहरुको परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गर्ने तर्फ प्रक्रिया अगाडी बढाईने समेत संस्थाले स्पष्ट पारेको छ ।
विजय लघुवित्त साविकको सारथि लघुवित्त र विजय लघुवित्त एक आपसमा गाभिएर बनेको संस्था हो ।

