काठमाण्डौ । सेयर बजार अब शुक्रबार पनि खुल्ने भएको छ ।
नेप्सेका एक सञ्चालकका अनुसार यो विषयमा आज बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले इन्धनको समस्याबाट जुध्ने उद्देश्यले साताको दुई दिन शनिवार र आइतबार सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरेको थियो ।
त्यसलगत्तै नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले समेत आइतबार विदा भएको अवस्थामा सेयर बजार सातामा ४ दिन मात्र सञ्चालन गर्ने वा शुक्रबार समेत सञ्चालन गरी ५ दिन नै बनाउने भन्ने विषयमा अनौपचारिक छलफल गरेको थियो ।
नेप्सेको उच्च व्यवस्थापनले शुक्रबार समेत सेयर कारोबार खोल्न सकिने विगतको नजिर समेत उल्लेख गर्दै सञ्चालक समितिमा सिफारिस गरेको थियो । आइतबार नेप्सेको सञ्चालक समितिको नियमित बैठक बसेको थियो । बैठकको सुरुवातमै विशेष प्रस्तावको रुपमा शुक्रबार पनि बजार खुलाउने विषय प्रवेश भएको थियो । सञ्चालक समितिको बहुमतले शुक्रबार बजार खुलाउने निर्णय गरेको हो ।
'अब सेयर बजार प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म खुल्ने निश्चित भएको छ ।' नेप्सेका ती सञ्चालकले बिजशालासँग भने- 'सोहीअनुसार आवश्यक व्यवस्था मिलाउनका लागि हामीले सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेका छौं ।'
यसैबीच, नेप्सेको आजकै सञ्चालक समितिको बैठकले स्टक डिलरसँग सम्बन्धित कार्यविधिमा केही बुँदाहरुमा संसोधनको प्रस्ताव पारित गरेको छ । स्टक डिलरको कारोबारलाई थप सहज बनाउने हिसाबले कार्यविधि संसोधन भएको हो ।

