काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठकमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयबाट बजेट फाइल बोकेर सिंहदरबार पुगेका छन्।
यसपटक उनले विगतको परम्परा तोड्दै बजेटलाई नेपाली कागजबाट बनेको विशेष फाइलमा प्रस्तुत गरेका छन्। यसअघि अर्थमन्त्रीहरूले बजेट प्रायः ब्रिफकेस वा अन्य झोलामा बोकेर ल्याउने गरेका थिए।
नेपाली कागजको फाइलमा बजेट ल्याएर अर्थमन्त्री वाग्लेले स्वदेशी उत्पादन र मौलिकताको सन्देश दिन खोजेको बुझिएको छ।
मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री वाग्ले संघीय संसदको संयुक्त सदनतर्फ प्रस्थान गर्नेछन्। उनले आज अपराह्न ४ बजे संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

